काठमाडौँ — विश्व प्रसिद्ध स्वास्थ्य अनुसन्धान पत्रिका ‘द ल्यान्सेट ग्लोबल हेल्थ’मा हालसाथै प्रकाशित स्वास्थ्य स्वयंसेविकाले मुटु रोगजन्य रोग रोकथाममा प्रभावकारी भूमिका खेल्न सक्छन् भन्ने अनुसन्धानमूलक लेखले नेपालको स्वास्थ्य क्षेत्रमा तरङ्ग ल्याएको छ । अधिकांशले यस्तो कार्यक्रम नेपालका लागि अत्यन्त आवश्यक रहेको बताएका छन् । स्वास्थ्य स्वयंसेविकालाई निशुल्क काममा लगाउनु हुँदैन भन्ने प्रतिक्रिया पनि आएको छ । कतिपयले स्वयंसेविकाले रक्तचाप सही तरिकाले नाप्न सक्दैनन् कि भन्ने शंका गरेका छन् । स्वास्थ्य स्वयंसेविका कार्यक्रमको औचित्य छ कि छैन भन्ने बहस चलिरहेका बेला आएको यो अनुसन्धानको नतिजाले बहसको वातावरण भने सिर्जना गरेको छ । यो अनुसन्धानमा आफैं संलग्न भएकाले म के भन्न सक्छु भने यस्तो कार्यक्रम सञ्चालनबाट रक्तचाप सम्बन्धी मृत्यु धेरै हदसम्म कम हुनसक्छ ।
उच्च रक्तचाप नेपालमा मुख्य स्वास्थ्य समस्या भइसकेको छ । हरेक चारजना वयस्क मान्छेमा कम्तीमा एकजना यो समस्याबाट ग्रसित छन् । तर आधाभन्दा बढी मानिस आफ्नो उच्च रक्तचापको अवस्थाबारे अनभिज्ञ छन् । पश्चिमा जीवनशैली अपनाउने बहानामा हामी अस्वस्थकर खानपानको बानी बढाइरहेका छौं । यसैले रक्तचापको मापन, यसको रोगथाम र उपचारलाई गाउँ–गाउँसम्म पुर्याउन जरुरी छ । रक्तचाप नाप्दा केही वैज्ञानिक विधि ख्याल गर्नुपर्छ । तर यसका लागि डाक्टर वा नर्स नै चाहिन्छ भन्ने होइन ।
विश्व स्वास्थ्य संगठनले त व्यक्तिले आफै घरमा रक्तचाप मापन गरिरहनुपर्छ भन्छ । सम्भव भए त त्यो नै गर्ने हो । तर हाम्रोजस्तो अल्पविकसित देशमा तत्कालका लागि सम्भव देखिँदैन । यो काम स्वास्थ्य स्वयंसेविकाले नै किन गर्ने त ? कसले नाप्ने र कसले परामर्श दिनेभन्दा पनि रक्तचापको सही नापन र उचित परामर्श भएको छ कि छैन भन्ने महत्त्वपूर्ण हुन्छ । हरेक वडामा एकजना नर्स राखे पनि योभन्दा तल समुदाय स्तरमा केही न केही जनशक्ति चाहिन्छ । त्यसका लागि स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्न सकिन्छ । उनीहरूको मुख्य भूमिका भनेको स्वस्थ जीवन शैलीबारे नै जनचेतना जगाउनु हो । नेपालले सर्ने रोग तथा मातृ तथा शिशु स्वास्थ्य सुधारमा गरेको प्रगतिलाई हेर्ने हो भने अनुभवका आधारमा स्वयंसेविका प्रयोग गर्दा प्रभावकारी हुने देखिन्छ ।
स्वास्थ्य स्वयंसेविकाको शैक्षिक स्तर देशको शिक्षा क्षेत्रमा भएको प्रगतिसँगै सुध्रिँदै जान्छ । हाललाई पढ्न–लेख्न जान्ने स्वयंसेविकाबाट रक्तचाप नाप्ने कार्यक्रम अगाडि लान सकिन्छ । नेपालीमै पढ्न मिल्ने, रङ अनुसार रक्तचापको अवस्था बताउने तथा बोलेर रक्तचापको अवस्था भन्न सक्ने मेसिनहरू पनि प्रयोग गर्न सकिन्छ । रक्तचाप नाप्न स्वास्थ्य स्वयंसेविकाबाट सम्भव नहुने क्षेत्रमा विद्यालयका शिक्षक, स्थानीय स्तरमा साक्षर युवालाई पनि परिचालन गर्न सकिन्छ । कामको बोझ धेरै हुने अवस्था देखियो भने स्वयंसेविकाको संख्या पनि बढाउन सकिन्छ ।
मूल कुरा स्वयंसेविका भएर काम गर्छु भन्ने व्यक्तिले आफ्नो निजी जीवनबाट केही न केही समय सार्वजनिक जीवनका लागि छुट्याउनैपर्छ । नेपालमा विगत २० वर्षदेखि खस्कँदै गएको विशुद्ध मानवीय स्वयंसेवा हो । धेरैजसो देशमा यस्ता कार्यक्रम सशक्त रूपमा परिचालित छन् । आफ्नो काम नै बिताएर वा शोषित नै भएको अनुभूति गर्नेगरी कार्य गर्ने होइन । तर जीवनको केही समय यस्ता कार्यमा कसैले केही समय दिँदा गौरवान्वित महसुस नै गर्नुपर्छ । राजनीतिक पार्टीका लाखौं कार्यकर्ता पार्टीको काममा आर्थिक लाभबेगर अहोरात्र खट्ने देशमा विशुद्ध समुदायको फाइदाका लागि हुने यस्ता पवित्र काम गर्न इच्छुक हुनेहरूको कमी नहुनुपर्ने हो ।
समुदाय स्तरमा रक्तचाप मापनको पहुँच पुग्दा हाम्रै पाका उमेरका वा आमा नै लाभान्वित हुने हो । यसले स्वास्थ्य कार्यकर्ताको बोझलाई पनि कम गराउँछ र अरु महत्त्वपूर्ण उपचारका लागि समय उपलब्ध हुन्छ । समुदायमा रक्तचापको मापन र स्वस्थ जीवन शैलीबारे परामर्शसँगै स्वास्थ्य संस्थाहरूमा उच्च रक्तचापको निदान र उपचारलाई पनि प्रभावकारी बनाउँदै लानुपर्छ । स्वास्थ्य स्वयंसेविकाले प्रेषण गरेका व्यक्तिहरूलाई छिटो, प्रभावकारी र सर्वसुलभ उपचार पाउने पद्धति पनि विकास गर्नुपर्छ । अनि मात्र उच्च रक्तचापका कारणले अकालमा मृत्यु हुनेहरूको जीवन बचाउन सकिन्छ ।